• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here

काठमाडौंका मानिसमा छाती दुख्ने वा छाती ढक्क फुलेको जस्तो हुने, रिंगटा लाग्ने, मूर्छा परिएला जस्तो हुने, आँखा पोल्ने, निधार, गाला चिलचिलाउने, घाँटी खसखस गर्ने, लामो समयसम्म रुघाखोकी लागिरहने लक्षण बढ्दो मात्रामा देखिन थालेका छन् । प्रतिकूल वातावरणीय कारणहरूले मानव स्वास्थ्यमा पारेको असरले ल्याएका हुन् यी शारीरिक अस्वस्थता ।

यस्ता रोगहरूको कारण राजधानीको वायु प्रदूषण हो । राजधानीको वायु प्रदूषित छ । प्रदूषण मापन गर्ने विधिका आधारमा भन्ने हो भने सामान्य अवस्थाको तुलनामा चार गुणा बढी प्रदूषित छ राजधानीको हावा । हावामा मिश्रित ‘पार्टिकुलेट म्याटर’ (कणतत्व) को मात्राका आधारमा यसो भनिएको हो ।

वायु प्रदूषणले मानिसको फोक्सोमा असर पार्दछ वा फोक्सो विरामी बनाउँछ । मानिसले वायुमण्डलमा प्राप्त हावा लिन्छ । सो हावालाई फेक्सोले प्रशोधन गर्दछ र हावामा भएको अक्सिजन र अन्य वायुलाई छुट्याउँछ ।

फोक्सोले प्रशोधन गरेर शुद्ध बनाएको अक्सिजन मुटुलाई दिन्छ र मुटुले शरीरका अन्य अंग र कोषिकाहरूमा वितरण गर्दछ । कार्बनडाइअक्साइड लगायत अन्य वायु मुखबाट बाहिर निकालिदिन्छ । मानिसहरूले बोध गरेको माथि भनिएका असहज स्वास्थ्य अवस्था फोक्सोले वायु प्रशोधन गर्ने प्रक्रियामा आएको अवरोध हो । यस्तो अवरोधले लामो समय निरन्तरता पायो भने मान्छे गम्भीर बिरामी पर्न जान्छ र मृत्युको खतरा पनि रहन्छ ।

हामी सबैले प्रायशः सुनिरहेका छौं, पार्टिकुलेट म्याटर अर्थात् कणतत्व २.५ भनेको । रेडियो, टिभी, समाचारपत्र, अनलाइन न्युज पोर्टलहरू सबैतिर हावामा पार्टिकुलेट म्याटर २.५ को मात्रा बढी भयो भन्ने गरेको सुनेकै छौं ।

तर, के हो यो पार्टिकुलेट म्याटर २.५ भनेको ? यो कसरी बन्छ ? यसले के गर्छ ? मानव स्वास्थ्यमा यसले के–कस्तो असर पार्छ ? यी बृहत् वैज्ञानिक कुरा बुझ्नुको के महत्व छ ? बुझेर पनि हामीले के नै गर्न सक्छौं ? भन्ने मनोविज्ञान पनि हामीमा रहेको छ । यी सन्दर्भहरूमा यस लेखमा विस्तृत प्रकाश पार्ने प्रयास गरिएको छ ।

यी कुरा किन बुझ्नु जरूरी छ भने समस्याको आयाम र आयतन बुझ्न सकियो भने समाधानको जिम्मा लिएका निकायहरूलाई आफ्नो जिम्मेवारी वहन गर्न हामी दबाब दिन सक्छौं । अर्कातिर त्यस समस्याबाट बच्न हामी आफैंले अवलम्बन गर्न सक्ने स्वप्रयोजनीय व्यवहार (प्रोटोकल) बनाउन र आफैंमाथि लागू गर्न सक्नेछौं ।

काठमाडौं उपत्यकामा दुई महानगर र १९ पालिकाहरू छन् । यी पालिकाहरूलाई अधिकार प्रत्यायोजनका दृष्टिकोणले स्थानीय सरकार भनिएको छ । सरकार भन्नुको तात्पर्य आफ्ना दृष्टिकोणहरूमा कानुन बनाएर लागू गर्न पाउने अधिकार प्राप्त गर्नु हो ।

त्यसैगरी नेपालको संघीय सरकारको स्टेसन पनि काठमाडौं नै हो । यसरी हेर्‍यो भने काठमाडौं सरकारहरूको एक हव वा केन्द्र हो । यहाँ ३३४ सांसदहरूको केन्द्रीय सचिवालय छ । सबै मन्त्रालयहरू यहीं छन् र राज्यका सबै नीतिनियम, निर्देशिका र रणनीतिक लक्ष्यहरू यहीं निर्धारण गरिन्छन् ।

तर यो ठाउँ वातावरणीय दृष्टिकोणले अत्यन्त प्रदूषित छ, यहाँको हावा सास लिन नसकिने प्रदूषित छ । जहाँ मानिसहरू वातावरणीय अस्वस्थताबाट ग्रस्त छन्, त्यहाँको संघीय र स्थानीय सरकारहरूमा नागरिकहरूले भोगिरहेको यो असहज अवस्थाप्रति कुनै संवेदनशीलता पाइँदैन ।

सरकार र पालिकाहरूले वायु प्रदूषणलाई प्राकृतिक विपत्ति भनेर मौसममा आउने सुधार पर्खिएर बसेको जस्तो देखिन्छ । काठमाडौं महानगर शहरको सुन्दरताका लागि शहरी सडक विस्तारमा क्रियाशील छ, यो राम्रो हो । तर, आधुनिक युगमा राम्रो कार्य गर्न पनि मानकहरू बनेका छन्, बनाइएका छन् ।

बाटो, घर वा यस्तै पूर्वाधारहरू बनाउनु राम्रो हो तर त्यसका निर्माण मानकहरू उपेक्षा गरेर बनाउन पाइन्छ र ? महानगरको शहरी विस्तार अभियान मध्ययुगीन विकास जस्तो लाग्छ । टिभी र युट्युब फुटेजहरू हेर्दा काठमाडौं महानगरमा वातावरणीय सचेतनालाई विकास इन्जिनियरिङले मारिदिएको छ ।

महानगरले बाटो फराकिलो बनाउँदा वा अवैध संरचनाहरू भत्काउँदा प्रयोग गरिएको विधि पद्धति हेरियो भने वातावरणीय दृष्टिकोणले यसलाई मध्ययुगीन चेतनास्तर भन्न सकिन्छ । राजधानीको सुन्दरताको वैधानिक अभियन्ता महानगरपालिका नै प्रदूषण नियन्त्रणमा इच्छुक देखिंदैन ।

काठमाडौं महानगरको यो उपक्रम २१औं शताब्दीको विश्व व्यवस्थामा अन्यत्र कतै देख्न कठिन छ । निर्माण वा ध्वंस पूर्व त्यसबाट हुने वातावरणीय क्षति महानगरले मापन गर्नु अनिवार्य छ । भत्काइएका संरचनाहरूबाट उत्सर्जन हुने धुलो वा फोहोर व्यवस्थापनका लागि अग्रिम योजना बनाउनुपर्ने हो सो देखिएको छैन । महानगरपालिकाको वातावरण विभाग के काम गर्छ ? उसले कुनै सार्वजनिक जानकारी दिनुपर्छ पर्दैन ?

नेपाल सरकार ल्याण्डक्रुजर गाडीको शिशा बन्द गरी एअर कन्डिसन अन गरेर हिंड्छ । सायद घरमा पनि एअर बाइपास ड्याम्पर हालिएको होला नेता र मन्त्रीहरूको निवासमा । यसले बाहिरको धुलो भएको हावा घरभित्र छिर्न दिंदैन ।

यति सुविधा त सरकारका मन्त्री र दलका नेताहरूले पाउनै पर्छ । तर जो वा जसका लागि र जसमाथि उहाँहरू शासन गर्दै हुनुहुन्छ, जसका नाममा शासन गर्दै हुनुहुन्छ, तिनीहरूप्रति सरकारको दायित्व वा संवेदनशीलताको मानक के बनाएका छन् ? किन मानिसको नैसर्गिक जीवनप्रति सरकारहरू अनिच्छुक देखिन्छन् ?

अब हेरौं मानव स्वास्थ्यमा घात गरिरहेको पार्टिकुलेट म्याटर (कणतत्व) भनेको के हो ? यसले कसरी मानव स्वास्थ्यलाई असर पार्छ ? काठमाडौं उपत्यकाको हावामा पार्टिकुलेट म्याटर २.५ को मात्रा स्वास्थ्य मानकको तुलनामा चार गुणा ज्यादा पाइएको छ ।

बाटो, घर वा यस्तै पूर्वाधारहरू बनाउनु राम्रो हो तर त्यसका निर्माण मानकहरू उपेक्षा गरेर बनाउन पाइन्छ र ? महानगरको शहरी विस्तार अभियान मध्ययुगीन विकास जस्तो लाग्छ । टिभी र युट्युब फुटेजहरू हेर्दा काठमाडौं महानगरमा वातावरणीय सचेतनालाई विकास इन्जिनियरिङले मारिदिएको छ ।

हावाको गुणस्तर मापन सूचकांकको आधारमा भन्दा यो मात्रा मानिसलाई सास फेर्न कठिन हुने अवस्था हो । हावामा रहेको २.५ पार्टिकुलेट म्याटर ओजोन नाइट्रोजन अक्साइड, वाष्पिक कार्बन यौगिक वा बेन्जेन, कार्बनमोनोअक्साइड र सल्फर डायोक्साइड जस्ता हानिकारक रासायनिक तत्वहरू र धुलोको समिश्रणबाट बनेको हुन्छ । हेरौं यी हानिकारक यौगिक तत्वहरूले के गर्छन् ?

कार्बनमोनोअक्साइड एक रासायनिक तत्व हो । यो काठमाडौंको हावामा तैरिरहेको छ, हावासँगै उडिरहेको छ । हामीले सास फेर्दा यो तत्व पनि फोक्सोमा प्रवेश गर्छ र रगतमा हेमोग्लोविनसँग मिसिन्छ । यसले अक्सिजन ओसारपसार गर्ने रगतको क्षमतामा कमि ल्याउँछ र शरीरका अंगहरूमा अक्सिजन आपूर्ति गर्ने प्रक्रियालाई अवरुद्ध पार्दछ ।

दिमागमा अक्सिजनको कमिबाट आइपर्ने समस्याहरू जस्तै थकान, टाउको दुख्नु, भ्रम पैदा हुनु, मूर्छा पर्नु, रिंगटा चल्नु, वाक्वाकी लाग्नु जस्ता सामान्य लाग्ने तर दीर्घकालिक स्वास्थ्य समस्या उब्जाइदिन्छ ।

यहाँको हावामा ओजोन रासायनिक या यौगिक कणको मात्रा बढ्दै गएको छ । यसले ब्रोंकाइटिस वा फोक्सोको दीर्घ रोग, छाती ढक्क फुलेर भारी हुनु, लगातार खोकी, फोक्सोको अक्सिजन प्रशोधन प्रक्रियामा शिथिलता ल्याइदिन्छ । स्वस्थ मानिसहरू पनि ओजोनको सम्पर्कमा आएपछि सास फेर्न कठिनाइ महसुस गर्दछन् ।

यस्तै सास फेर्दा नाइट्रोजन लिनुले बच्चाहरूको श्वास–प्रश्वासमा संक्रमण, जसका कारण फोक्सो कमजोर हुँदै जाने र श्वास–प्रश्वासको दीर्घरोग हुन पुग्छ ।

काठमाडौंमा आजको हावाबाट बच्चाहरूलाई जोगाउनु अत्यन्त जरूरी छ । वातावरणीय नियतिप्रति असंवेदनशील विकासवादीहरूले समेत आ–आफ्ना बच्चाहरूको स्वास्थ्यमा ध्यान दिनै पर्दछ ।

हावामा भएको सल्फरडाइअक्साइडले पनि ब्रोंकाइटिस बनाइदिन्छ । नाक चिलाउने, घाँटी खसखस गर्ने, घाँटीमा केही कुरा अड्किए जस्तो महसुस हुने, छातीमा केही कुरा जमे जस्तो हुने, खकार जमेर बस्ने गराउँछ । मुटु सम्बन्धी रोगको यो एक प्रमुख कारण पनि हो ।

पार्टिकुलेट म्याटर हावा प्रदूषणको एक कमन साझा मापन विधि हो । विभिन्न कणतत्वहरू यसमा सन्निहित रहेका हुन्छन् । ती सबै मानव स्वास्थ्यका लागि हानिकारक छन् । सल्फेट कणतत्वहरू पार्टिकुलेट म्याटर २.५ का भागहरू हुन् । यसले फोक्सोको गतिशीलता वा कार्यहरूलाई कमजोर पार्दछ । दमका रोगीहरूको अवस्था जटिल बनाउँछ ।

नाइट्रोजनको मात्रा धेरै भएको हावामा सास फेर्नु भनेको बच्चाहरूका लागि स्वास्थ्य अवस्था गम्भीर हुनु हो । यसले मेथेमोग्लोबिनेमिया भन्ने एक प्रकारको दीर्घ रोग जसले रक्त प्रसारणमा असहज परिस्थिति पैदा गरिदिन्छ जसले गर्दा बच्चाहरूको मृत्यु हुने खतरा रहन्छ ।

एमोनिया बढी हुनु भनेको आँखा पोल्ने, नाक घाँटीको समस्या, श्वास प्रश्वास नलीको प्रक्रियामा बाधा उत्पन्न हुनु जस्ता स्वास्थ्य घात पर्दछन् । हावामा मिसिएको कालो कार्बन फोक्सोभित्र पस्दछ र विषाक्त पदार्थलाई रक्तप्रवाहमा मिसाइदिन्छ । यसले ब्लड इन्फेक्सन गराउँछ । मानिसमा मात्र नभएर वायु प्रदूषणले घरपालुवा जनावरका अतिरिक्त अन्य जंगली जनावरहरूको स्वास्थ्यमा पनि प्रतिकूल प्रभाव पार्ने गरेको विभिन्न अध्ययनको निष्कर्ष रहेको छ ।

शिवपुरी, नागार्जुन, फुल्चोकी, चन्द्रागिरि जस्ता प्राकृतिक वनहरूले काठमाडौंको वायुमण्डलमा घुमिरहेका रासायनिक तत्व र धुलोलाई अवशोषण गर्ने गर्दथे । धुलो अवशोषणका लागि झ्याउ पलाएका रूखहरू सबैभन्दा उपयुक्त हुन् । काठमाडौंको आर्टिफिसियल आवश्यकता पूर्ति गर्न वरिपरिका वन फँडानी र त्यहाँ अत्याधुनिक विकास आयोजनाहरू सञ्चालन गर्ने निजी क्षेत्र र सरकारको संयुक्त तर घातक अभियानले काठमाडौंलाई हेर्दाहेर्दै चरम प्रदूषित बनाइरहेको छ र यहाँका मानिसहरू आफ्नो विभिन्न आकांक्षाका प्यास मेट्न अहोरात्र विषाक्त वायु निलिरहेका छन् ।

प्रकृतिको एक सुन्दर रचना हो काठमाडौं । पानी, वन र कृषिको सम्यक् अन्तरसम्बन्ध थियो यहाँ । यहाँको राजनीति परजीवी हुँदै व्यापारमा आश्रित भयो । व्यापारले प्रकृति वा इकोसिस्टमको शोषण गरेर नाफा कमाउने रणनीति लागू गर्न राजनीति र प्रशासनको सहयोग खोज्यो । राजनीति, प्रशासन र व्यापारको मिलिभगत अर्थात् नेक्ससले काठमाडौं वरिपरिको पर्यावरणलाई कम्पनीहरूको नाफाको स्रोत बनायो ।

यसको परिणाम शिवपुरी, फुल्चोकी वा चन्द्रागिरिका वन नासिए र त्यहाँ निजी व्यवसायीले इकोसिस्टमको शोषण गरेर बनाएका आनन्द पार्कहरूको व्यवसाय चल्यो । जसले राजधानीलाई पर्यावरणीय गौरव र वातावरणीय सुन्दरता दिएका थिए, ती सकिए । अब मरुभूमीकरणको दिशामा गएको छ राजधानी काठमाडौं । काठमाडौंको जमिन अत्यन्त शुष्क भएको छ । शुष्क जमिनका कारण जमिनको धुलो पनि वायुमण्डलमा मिसिएको छ ।

शिवपुरी, फुल्चोकी वा चन्द्रागिरिका वन नासिए । त्यहाँ निजी व्यवसायीले इकोसिस्टमको शोषण गरेर बनाएका आनन्द पार्कहरूको व्यवसाय चल्यो । यसरी पर्यावरणीय गौरव र वातावरणीय सुन्दरता दिने वन नासेपछि अब मरुभूमीकरणको दिशामा गएको छ राजधानी काठमाडौं ।

काठमाडौं खड्कुलो आकारको छ । वरिपरि अग्ला डाँडाहरू छन् बीचमा गहिरो समथर भूभाग । यहाँको वायुमण्डल डाँडाहरूबाट घेरिएको छ । वायुमण्डलमा घुमिरहेका धुलाका कण र हानिकारक रसायनहरू डाँडाबाट छेकिने हुनाले बाहिर उडेर जान पाउँदैनन् । त्यसकारण यहाँ यसस्तरको हानिकारक वायु प्रदूषण हुन पुगेको हो ।

अव्यवस्थित निर्माण, थोत्रा सवारी साधन, कच्ची सडकबाट गाडीले ल्याउने हिलोमाटो र सो सुकेर बन्ने धुलो यहाँको रैथाने विशेषता हुन पुगेका छन् । चन्द्रागिरि, शिवपुरी र फुल्चोकीमा गरिने तथाकथित विकास नामको विनाशका कारण उत्पादित धुलो पनि उडेर राजधानी नै पसिरहेको छ । शिवपुरीको आवादी धुलो र विकासका नाममा गरिने संरक्षण क्षेत्रकोे दोहनले उत्पन्न गरेको पर्यावरणीय चुनौतीहरूबाट पीडित हुँदै गइरहेको छ, त्यसले काठमाडौं खाल्डोलाई पनि मानव बसोबास अनुपयुक्त बनाइरहेको छ ।

‘नागमती बाँध, सम्भावित बाढी र पशुपतिनाथको भविष्य’ शीर्षकमा १६ माघ २०८० मा प्रकाशित मेरो लेखमाथि विनोद पराजुली, प्रकाश निरौला र माधव बिष्टको प्रतिक्रियालाई मैले पर्यावरण सम्बन्धमा नेपाली मनोविज्ञान अध्ययनको एक र्‍यान्डम नमूना मानेको छु ।

माधव बिष्टको आफ्नो आइडी फोटोमा शायद उहाँकी सानी छोरीको पनि फोटो छ । प्रकाश निरौलाले रमणीय स्थानमा खिचिएको फोटो आइडीमा राख्नुभएको छ । विनोद पराजुलीको टिप्पणी पढ्दा उहाँ पनि कुनै खास विषयको जानकार व्यक्ति भन्ने बुझिन्छ । यी टिप्पणीहरू पर्यावरणीय चेतनाको नेपाली स्तर मापन गर्ने अध्ययनको एक सूत्र हुनसक्छन् भन्ने मेरो ठहर छ ।

जसले आफ्नो आइडीमा छोरीको तस्बिर राख्छ ऊ निःसन्देह सन्तानप्रति भयंकर संवेदनशील छ । यस्तो संवेदनशीलताले आगामी दिनहरू आफ्ना सन्तानका लागि सहज–असहज के छन् ? त्यतातिर बच्चाको क्षमता बढाइदिन पनि सोच्नुपर्ने हो ।

शरीर जड र त्यसमा आश्रित चेतना प्राण हो । शरीर स्थूल हो, प्राण दैवी । जब जडले चेतना मार्छ, स्थूलले प्राणतत्वलाई तिरस्कार गर्छ, स्थूल तत्वले प्राण कैद गर्छ र जड शरीरले चेतना थिचेर राख्छ, यो अवस्थालाई आजको नेपालको राजनीति, पर्यावरणीय चुनौती र इकोसिस्टम शोषणको जड कारण मान्न सकिन्छ ।

हाम्रो आफ्नो कालखण्ड वा आयुको समयसारिणीमा गरिने विकासको उपयोगिता आउने दिनका सन्तानलाई मिल्छ नै भन्न सकिंदैन । मेरो सोही नागमती बाँध सम्बन्धी लेखमा प्रतिक्रिया दिने एक जना कसैले लेखेका थिए– ‘यस विकास विरोधीलाई तुरुन्त जेल कोच्नुपर्छ ।’ यो लेख लेख्ने क्रममा उहाँको सो प्रतिक्रियाले मलाई दिएको ऊर्जा सम्झिएको छु ।

त्यसकारण फेरि एकपटक प्रतिक्रिया दोहोर्‍याएर हेरें, तर सो हटाइएको रहेछ । भलै पढालेखा वा आफूलाई विद्वान् भन्ने मानिसहरू पनि वातावरण वा पर्यावरणलाई तिरस्कृत शास्त्र भन्ने ठान्छन् । यही क्रम कायम हुने हो भने अबको २० वर्षमा राजधानी र यस वरिपरिको वातावरण मान्छे बाँच्नै नसकिने तहमा पुग्नेछ । पानी अभावको सम्भावित आतंकबाट संसारका वैज्ञानिकहरू त्यसै आत्तिएका होइनन् । विकासको जिजीविषामा आफ्नै जीवनको चरु पोल्न उद्यत मान्छेले आफ्नो ज्ञान र विवेकको बिर्को उघार्न कहिले सम्झने हो ?

वायु प्रदूषणको समाधान छैन ?

छ, सरल समाधान छ । सरकारलाई अतिरिक्त बोझ नहुने गरी यसको समाधान खोज्न सकिन्छ । वायु प्रदूषण मजाले घटाउन सकिन्छ तर इच्छाशक्ति हुनुपर्‍यो, नागरिक सचेत हुनुपर्‍यो । सरकार नागरिक सचेतताको सञ्चालक हुनुपर्छ । सर्वप्रथम मानिसहरूले आफूले व्यक्तिगत तवरमा गर्ने कर्महरूले पर्यावरणीय ह्रासमा पुर्‍याएको योगदान आफैं मापन गर्नुपर्छ ।

उपभोगका मान्यता र सिद्धान्तहरूमा पर्यावरण अनुकूल परिवर्तन गर्न सिक्नुपर्छ । उदाहरणका लागि अत्यावश्यक छैन भने सवारी साधन लिएर सडकमा कुदिरहनुको के तात्पर्य ? धुवाँ र धुलो घटाउने आफ्नै प्रक्रिया र प्रोटोकल मान्छेले लागू गर्नुपर्छ ।

निर्माण सामग्री खासगरी गिटी, ढुंगा बालुवा, सिमेन्ट, इँटा आदि प्लास्टिकले राम्ररी छोपेर मात्र ढुवानी गर्न दिने, घर निर्माण गर्दा निर्माण कार्य वरिपरि प्लास्टिकको बर्सादीले बेरेर मात्र निर्माण गर्न दिने हो भने पनि धेरै मात्रामा धुलो नियन्त्रण हुन सक्छ ।

नगरपालिकाहरूले शहरका गल्लीहरू प्रत्येक दिन बढार्ने र राजमार्गहरू सरकारले सफा गर्ने नियम कडाइका साथ पालना गरिनुपर्दछ ।

यस्तै थोत्रा, पुराना धुवाँ धेरै फाल्ने बस, ट्रक लगायत साना सवारी साधनहरू तुरुन्त प्रतिबन्ध लगाउनाले यातायात क्षेत्रले पुर्‍याएको वायु प्रदूषण कम हँुदै जान्छ । काठमाडौंको यातायातमा जोर–विजोर पद्धति लागू गर्न ढिला गर्नै हुँदैन । कच्ची सडकबाट पक्की सडकमा आउने गाडीहरूका लागि मापदण्ड लागू गर्ने उनीहरूले पक्की सडकमा हिलो–धुलो ओसार्न नपाउने व्यवस्था कडाइका साथ लागू गर्न सकिन्छ ।

राजधानी काठमाडौंमा भएको कोइला र तेलबाट चल्ने कारखानाहरू यहाँबाट अन्यत्र स्थानान्तरण गर्ने वा बन्द गर्नुपर्छ । कारखानाहरूले पर्यावरण अनुकूल प्रविधि लागू गर्न सक्दैनन् भने कारखाना सञ्चालन बन्द गर्नुपर्छ । नगरपालिकाहरूले शहरका गल्लीहरू प्रत्येक दिन बढार्ने र राजमार्गहरू सरकारले सफा गर्ने नियम कडाइका साथ पालना गरिनुपर्दछ ।

काठमाडौं वरिपरिको वन संरक्षणका लागि कठोर नियम लागू गर्नुपर्छ । संरक्षण क्षेत्र व्यवस्थापनमा स्थानीय समुदायसँग सरकारी सहकार्य हुनुपर्दछ । व्यवस्थापनमा संरक्षण क्षेत्रको प्रशासन सञ्चालन गरिनुपर्दछ । यसको प्रमुख उद्देश्य संरक्षणको सैद्धान्तिक अवधारणा कार्यान्वयन गर्नु हो ।

काठमाडौं वरिपरिका संरक्षण क्षेत्रमा निजी व्यवसायीलाई दिइएको राज्यको सम्पत्ति तुरुन्तै सिज गरी त्यहाँ सरकार–समुदायको सामूहिक व्यवस्थापनमा वन संरक्षण विधि लागू गर्नुपर्छ । यति गर्न सकिए, राजधानीको वायु प्रदूषण कम गर्न र पर्यावरणीय जोखिम घटाउन सकिन्छ । सडक बन्नुभन्दा १० वर्षअघि रिङरोडका रूख काट्ने निर्णय गर्ने सरकारी अधिकारीहरूलाई जिनोसाइड अपराध सरह कानुनी कारबाहीमा ल्याउने एक वातावरणीय जुरी पद्धति स्थापना गर्नुपर्दछ ।

लेखकको बारेमा
श्रवण शर्मा

शर्मा राइट्स अफ नेचर अभियानमा संलग्न छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

Adblock test (Why?)